नुवाकोट २ रास्वपा उम्मेदवार अच्युतम लामिछानेको पुरानो भिडियो भाइरल
नुवाकोट,माघ २७। नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अच्युतम लामिछानेको तीन वर्षअघिको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उक्त भिडियो काठमाडौंको गोकर्ण हाउस होटलमा आयोजित एक चुनावी प्रचारप्रसार कार्यक्रममा खिचिएको हो। तत्कालीन समयमा रास्वपाका उम्मेदवार सुमन पाण्डेको पक्षमा गरिएको चुनावी अभियानका क्रममा डा. लामिछानेले मन्तव्य दिँदै लाङटाङको पानी अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सकिने र चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाईसमेत पिलाउन सकिने अभिव्यक्ति दिएका थिए। साथै नेपालीपन र नेपालका प्राकृतिक शुद्ध स्रोतबाट आर्थिक तथा पर्यटन क्षेत्रमा फाइदा लिन सकिने विषयमा उहाँले धारणा राख्नुभएको थियो।
शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले त्यसबेलाको राजनीतिक विषयवस्तुमा चर्चा गरेका थिए। तर हाल आएर डा. लामिछानेको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा खिसिट्यूरीसहित सेयर हुन थालेपछि मिश्रित प्रतिक्रिया देखिन थालेका छन्।
केहीले यसलाई नेपाली प्राकृतिक स्रोतको प्रवर्द्धनसँग जोडेर सकारात्मक रूपमा लिएका छन् भने केहीले अभिव्यक्तिलाई अतिरञ्जित भन्दै आलोचना गरेका छन्। चुनावी माहोल तातिँदै जाँदा पुराना भिडियोहरू सार्वजनिक हुँदै जानुले नुवाकोट–२ को राजनीतिक वातावरण थप चर्किने संकेत देखिएको छ।
भिडियो हेर्नुस्

