पश्चिमी कमजोर वायुको प्रभाव, तराई र उपत्यकामा तुँवालो
काठमाडौँ,माघ २७ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
महाशाखाका अनुसार मङ्गलबार दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ। देशका उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल र तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ। उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागको मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई र उपत्यकाका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने र तत्काल वर्षाको सम्भावना नरहेकाले वायु प्रदूषण कायम रहन सक्ने भन्दै महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

