तामाकोशीमा अरनिको बस खस्दा ५ जनाको मृत्यु, उद्धार र अनुसन्धान जारी
रामेछाप,माघ २७ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिक लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना भएको छ। काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान करिब ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र उद्धार टोलीको सहयोगमा उद्धार कार्य तीव्र रूपमा जारी छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ।
प्रहरीका अनुसार गाडी साहुसहित ५ जनाको शव नदीबाट निकालिएको छ भने नदीमा डुबेको बसभित्र रहेका अन्य यात्रुको उद्धार प्रयास जारी छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

