कांग्रेस बदलिएर आएको छ, बोलेका कुरा पूरा गर्छौँ : सभापति गगन थापा
सुनसरी,माघ २७। नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले जनतासामु बोलेका कुरा पूरा गरेको र बदलिएर अघि बढेको दाबी गर्नुभएको छ। मंगलबार सुनसरी–२ अन्तर्गत झुम्कामा नेता तथा कार्यकर्तासँगको भेटमा सभापति थापाले कांग्रेसप्रति जनताको विश्वास र माया रहेको उल्लेख गर्नुभयो।
उहाँले यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार राजीव कोइरालालाई मतदान गरेर विजयी गराउन आग्रह गर्दै बाँकी प्रतिबद्धता पनि पूरा गर्ने विश्वास दिलाउनुभयो। कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतासमक्ष स्पष्ट रूपमा राख्न नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो।
निर्वाचन आचारसंहिताका कारण धेरै कुरा राख्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै सभापति थापाले बदलिएर आएको कांग्रेसले अब भ्रष्टाचारको अन्त्य र सुशासनका लागि ठोस आधारसहित काम गर्नुपर्नेमा जोड दिनुभयो।

