रामेछापमा बस दुर्घना अपडेट, ज्यान गुमाउनेको संख्या १२ जना पुग्यो
रामेछाप,माघ २७ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना परि ज्यान गुमाउनेको संख्या १२ जना पुगको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो।
मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिनुभयो । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म १२ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ ।
१० जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ । तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

