दार्चुलामा प्रहरी हवल्दार हत्यामा संलग्न आरोपमा तीन जना पक्राउ
दार्चुला,माघ २७। दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या आरोपमा महाकाली नगरपालिका–४ की २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक गौरव महतले पक्राउ परेकाहरू घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो।
पक्राउ परेकी दिपिका पाल महाकाली नगरपालिका–४ मा सञ्चालित ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ। मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका–४ कै बासिन्दा हुन्।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडू, आशिकका भाइ मनिस पाल र राजेन्द्र डँडाल हाल फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा रहेको सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्ती सोमबार राति मृत अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

