नेकपाको चुनावी घोषणापत्र सार्वजनिक, रास्वपासहित नयाँ दललाई ‘सिद्धान्तहीन र विध्वंसकारी’को आरोप
काठमाडौँ, माघ २७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ राजनीतिक दलहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘विध्वंसकारी’ भएको आरोप लगाएको छ।
घोषणापत्रमार्फत नेकपाले मुलुकका राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार वर्गमा विभाजन गरेको छ। पार्टीले आफूलाई एकमात्र क्रान्तिकारी शक्ति दाबी गर्दै समाज रूपान्तरणका लागि स्पष्ट समाजवादी कार्यदिशा भएको उल्लेख गरेको छ।
घोषणापत्रमा विशेष रूपमा नयाँ उदाउँदै गरेका दलहरूमाथि कडा टिप्पणी गरिएको छ। ‘आफूलाई नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहीन र दृष्टिकोणविहीन छ, यो भदौ २४ को विध्वंस मच्चाउने तत्वसँग जोडिएको शक्ति हो,’ घोषणापत्रमा उल्लेख छ। यस्ता शक्तिहरूले मुलुकका समस्या समाधान गर्न नसक्ने र देश तथा जनताको हितमा नरहेको नेकपाको दाबी छ।
नेकपाले विगतका जनसंघर्ष र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको भन्दै लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वजस्ता अधिकार आफ्नै संघर्षबाट स्थापित भएको जनाएको छ। ‘हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौँ,’ भन्दै पार्टीले अन्य दलले भाषण मात्र गर्ने तर आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको छ।

