बर्थडे केक खाँदा २५ जना बिरामी, एकको अवस्था गम्भीर
पोखरा,माघ २७। पोखराको महेन्द्रपुलस्थित एक बेकरीको केक खाँदा २५ जना बिरामी परेका छन्। माघ २४ गते जन्मदिन मनाउन खरिद गरिएको केक सेवन गरेपछि उनीहरू बिरामी परेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
घटनाबारे गुनासो आएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको संयुक्त टोलीले महेन्द्रपुलस्थित काठमाडौं बेकरीमा अनुगमन गरेको छ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार केक खाएकामध्ये एक जनाको अवस्था गम्भीर भई पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ भने बाँकी बिरामीहरूको आकस्मिक कक्षमा उपचार गरिएको छ।
बिरामीमध्ये अधिकांशमा वान्ता, पखाला र पेट दुख्ने जस्ता लक्षण देखिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा बेकरीको बिक्री कक्षसँगै उत्पादन कक्षसमेत निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा बेकरीमा प्रयोग हुने कच्चा पदार्थहरू म्याद गुज्रिएको अवस्थामा फेला परेका छन्।
बरामद गरिएका सामग्रीमा पाँच सय ग्रामका मिक्स फ्रुट तथा विभिन्न फ्लेभर, पाँच सय ग्राम नरमदा कलर (अखाद्य रङ), पाँच केजी कोको पाउडर, बेकिङ पाउडर र अन्य फ्लेभरहरू रहेका छन्। प्रशासनले बेकरी सञ्चालक रोशन महर्जनलाई बुधबार आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। यद्यपि, सञ्चालक महर्जनले भने आफूहरूले सरसफाइमा ध्यान दिएको दाबी गर्नुभएको छ।

