नुवाकोटका सरोजसहित दुई जना कस्तुरी मृगको बिना अवैध कारोबारमा पक्राउ
काठमाडौं,माघ २७ । कस्तुरी मृगको बिना अवैध रूपमा किनबेच गरिरहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा मंगलबार शेषमति क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा नुवाकोटका ३९ वर्षीय सरोज परियार र बैतडीका ३२ वर्षीय जितेन्द्रबहादुर चन्द रहेका छन्। परियार पूर्वसैनिकसमेत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जितेन्द्रबहादुर चन्दविरुद्ध यसअघि पनि विभिन्न आपराधिक मुद्दा दर्ता भएका छन्। उनीमाथि २०७५ मंसिर १७ गते प्रहरी वृत्त बालाजुमा डाँका चोरीसम्बन्धी मुद्दा र २०८१ वैशाख २७ गते प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको थियो।
सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उनीहरूबाट ३० ग्राम कस्तुरी मृगको बिना बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको बिना र पक्राउ परेका दुवै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ।

