काठमाडौँसहित देशभर वायु प्रदूषण उच्च, अस्वस्थकर तह नजिक
काठमाडौं, माघ २८ । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ। काठमाडौँसहित देशका विभिन्न भूभागमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषणको स्तर अस्वस्थकर बन्दै गएको हो।
मंगलबार बिहान काठमाडौँमा बाहिर निस्केर सहज रूपमा सास फेर्नसमेत कठिन हुने गरी वायुको गुणस्तर अस्वस्थकर रेकर्ड गरिएको थियो। लामो समयसम्म पर्याप्त वर्षा नहुँदा वायुमण्डलमा थिग्रिएर बसेका धुलोका कणसँगै नयाँ कण थपिँदा वातावरण थप प्रदूषित बनेको वातावरण विभागले जनाएको छ। गत साता भएको हल्का वर्षापछि जमिनमा थन्किएका धुलोका कण पुनः आकासिएर तल्लो वायुमण्डल धुमिल बनेको विभागको भनाइ छ।
वातावरण निरीक्षक प्रकाश केसीका अनुसार वायु प्रदूषण खतराको तहनजिक पुगेको छ। “आगामी दिनमा डढेलो र सहरी प्रदूषण अझै बढे खतराको तह पार गर्न सक्ने अवस्था आउन सक्छ,” उहाँले भन्नुभयो। केही दिनयता काठमाडौँको आकाश धुम्म देखिनु र पूर्ण रूपमा खुल्न नसक्नुका कारण प्रदूषित हावा माथिल्लो वायुमण्डलमा फैलिन नसकेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो।
वातावरण विभागका अनुसार काठमाडौँ आसपासको दक्षिणकाली क्षेत्रमा लागेको डढेलोले पनि प्रदूषण बढाएको छ। यसै समय बर्खे बालीका लागि खेतबारी तयारी भइरहेकाले किसानले झारपात जलाउने क्रम बढ्नु, खेत जोत्नेदेखि खन्नेसम्मका कामले माटोका मसिना कण उड्नुले वायुमण्डल थप प्रदूषित बनेको विभागले जनाएको छ।
वायु गुणस्तर अनुगमन प्रणालीअनुसार काठमाडौँ मात्र नभई देशका विभिन्न स्थानमा वायु अस्वस्थकर देखिएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा खराब वायु इलाममा रेकर्ड भएको छ, जहाँ वायु गुणस्तर सूचक १९६ भन्दा माथि पुगेको छ। इलामको प्रतिघण्टाको सूचक पनि १९० नाघ्दै अस्वस्थकरबाट अति हानिकारकतातर्फ उन्मुख देखिएको छ।
त्यसपछि काठमाडौँको रत्नपार्क क्षेत्रको वायु अत्यधिक प्रदूषित देखिएको छ। पछिल्लो २४ घण्टाको सूचक करिब १७० आसपास र प्रतिघण्टाको सूचक १५५ भन्दा माथि पुगेको छ। यस्तै दाङ, सुर्खेत, भक्तपुर र खुमलटार क्षेत्रको वायु गुणस्तर सूचक पनि १६० आसपास पुगेको छ।
सरकारले तोकेको मापदण्डअनुसार वायु गुणस्तर सूचक ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील, १५१–२०० अस्वस्थकर, २०१–३०० अति अस्वस्थकर र ३०० भन्दा माथि पुगेमा अति हानिकारक मानिन्छ, जहाँ बाहिर ननिस्कन सुझाव दिइन्छ।
यसैबीच विश्वस्तरमा भारतको दिल्लीको वायु प्रदूषण अति हानिकारक तहमा पुगेको छ भने बङ्गलादेश दोस्रो स्थानमा रहेको छ। काठमाडौँको वायु गुणस्तर पनि तीव्र रूपमा बिग्रँदै विश्वका प्रदूषित सहरहरूको सूचीमा माथि उक्लने क्रममा रहेको देखिएको छ।

