देशका केही स्थानमा हुस्सु र तुँवालो, उच्च भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना



काठमाडौँ, माघ २८ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण तराईका धेरै स्थान तथा काठमाडौँ उपत्यकामा हुस्सु लागेको छ भने हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने बताइएको छ।

महाशाखाका अनुसार तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु कायम रहने र तत्काल उल्लेख्य वर्षाको सम्भावना नरहेकाले तराई र उपत्यकाका क्षेत्रमा वायु प्रदूषण पनि यथावत् रहने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्