ग्यास अभावको गुनासोपछि टेकुबाटै बिक्री वितरण सुरु



काठमाडौँ,माघ २८ । बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरेको छ।

डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा विशेष काउन्टर स्थापना गरी ग्यास उपलब्ध गराउन थालेको हो।

निगमका अनुसार बजारमा विशेषगरी अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास प्राप्त गर्न सक्नेछन्। बिक्री वितरण बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने जनाइएको छ।

निगमले उपभोक्तालाई अनावश्यक भीड नगर्न र निर्धारित समयमै उपस्थित हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्