अवैध हतियारसहित दुई जना पक्राउ, निर्वाचनअघि निगरानी कडा



विराटनगर,माघ २८ । निर्वाचन नजिकिँदै गर्दा मोरङमा अवैध हतियारको कारोबार तथा प्रयोग रोक्न प्रहरीले निगरानी कडा बनाएको छ। यसक्रममा मोरङ प्रहरीले अवैध हातहतियार तथा सञ्चार उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले सुन्दरहरैचा नगरपालिका–२ क्षेत्रमा शंकास्पद गतिविधि भइरहेको भन्दै खोजतलास गरेको थियो। सो क्रममा सुन्दरहरैचा–२ बस्ने २८ वर्षीय सिलास लिम्बूको घरमा खानतलासी गर्दा अवैध हातहतियार तथा सञ्चार उपकरण फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार ‘मेड इन युएसए’ लेखिएको एक थान पेस्तोल, एक थान भरुवा बन्दुक र ‘बाउफ्याङ’ लेखिएको दुई थान ह्याण्डसेट बरामद गरिएको छ। बरामदलगत्तै लिम्बूलाई नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा ती हतियार तथा उपकरण सुन्दरहरैचा–३ बस्ने २९ वर्षीय प्रेमबहादुर गुरुङबाट लिएको खुल्न आएपछि गुरुङलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरूले हातहतियार कसरी प्राप्त गरे, कुन उद्देश्यका लागि राखेका थिए र अन्य व्यक्ति संलग्न छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कबित कटुवालले शान्ति–सुरक्षाविरुद्धका गतिविधि सह्य नहुने बताउँदै यस्ता गतिविधिबारे सूचना दिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्