रामेछाप बस दुर्घटनापछि पीडितको प्रदर्शन, प्रशासनको गेट तोड्ने प्रयास
रामेछाप,माघ २८ । मंगलबार तामाकोशीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनले जिल्ला प्रशासन कार्यालय रामेछाप अगाडि प्रदर्शन गरेका छन्। प्रशासन कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएपछि पीडित पक्ष आन्दोलित बनेका हुन्।
पीडितहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार सुनिश्चित गर्न साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए।तोकिएको समयभित्र यातायात व्यवसायी सम्पर्कमा नआएको र प्रशासनले ठोस निकास दिन नसकेको भन्दै प्रदर्शनकारीले प्रशासन कार्यालयको मूल ढोका तोड्ने प्रयास गरेका थिए।
यसैबीच मृतकका आफन्तहरूले बुधबार बिहानदेखि मन्थली नगरपालिका–६ स्थित आकाशे, भैंसेश्वर क्षेत्र हुँदै मन्थली–खुर्कोट सडक अवरुद्ध गरेका छन्। दुर्घटनामा संलग्न सवारीसाधन धनी तथा यातायात समिति सम्पर्कमा नआएको भन्दै सडक बन्द गरिएको हो।
काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल राजमार्ग हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ००१–०५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान करिब १०:४० बजे मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक अनियन्त्रित भई सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो।
उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए। मृतकका परिवारले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको सम्पूर्ण उपचार खर्च र जीवनभर पालन–पोषणको व्यवस्था गरिनुपर्ने माग राखेका छन्। घटनाबारे थप छलफल जारी रहेको जनाइएको छ।

