शिक्षा सुधारमार्फत ‘गरिखानेहरूको प्रदेश’ बनाउने लक्ष्य : मुख्यमन्त्री बानियाँ



मकवानपुर, माघ २९ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई ‘गरिखानेहरूको प्रदेश’ बनाउन शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।

हेटौँडा उपमहानगरपालिका–५ पिप्ले स्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले काम गरेर खाने जनशक्ति उत्पादन गर्ने दिशामा प्रदेश सरकार अघि बढिरहेको बताए।

उहाँले शिक्षा क्षेत्रमा एआई (कृत्रिम बुद्धिमत्ता) को युगलाई ध्यानमा राख्दै सीप, तालिम र रोजगारीसँग जोडिएको प्रविधिमैत्री शिक्षा प्रणाली विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। शिक्षालाई समयसापेक्ष र प्रविधिसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मुख्यमन्त्री बानियाँले नयाँ पुस्ताले खोजेको जस्तो शिक्षा तत्काल उपलब्ध गराउन नसकिए पनि प्राविधिक शिक्षामा जोड दिँदै त्यसतर्फ अघि बढ्न सकिने धारणा राख्नुभयो। उहाँले शिक्षा प्रणालीलाई उत्पादनशील र आत्मनिर्भर जनशक्ति निर्माणतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्