विद्युतीय गाडीको भाडा १० प्रतिशतसम्म घटाउने तयारी



काठमाडौँ, माघ २९ । यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी) बसको भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। यस विषयमा विभागले आन्तरिक छलफल अघि बढाएको जनाएको छ।

हाल डिजेल बसको भाडादर निर्धारण भइसकेको भए पनि इभी बसका हकमा स्पष्ट भाडादर कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे अध्ययन भइरहेको विभागको भनाइ छ। डिजेल बसको तुलनामा इभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडा घटाउने प्रस्ताव अघि सारिएको हो।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार इभी बसको भाडादरलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन लागत तथा सञ्चालन पक्षको अध्ययन भइरहेको छ। “डिजेल बसको भाडादर तय भइसकेको छ, तर इभी गाडीका हकमा स्पष्ट व्यवस्था छैन। त्यसैले समग्र अध्ययनपछि १० प्रतिशतसम्म भाडा घटाउने विषयमा छलफल गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

विभागले सरोकारवालासँग परामर्श गरेर छिट्टै उपयुक्त निर्णय लिने जनाएको छ। निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भने भाडादर वैज्ञानिक आधारमा निर्धारण गरिनुपर्नेमा आफूहरू सहमत रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्