स्वास्थ्य बिमा सुविधा नघटाइएको बोर्डको स्पष्टिकरण, एक लाख सीमा यथावत्



काठमाडौँ,माघ २९ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बीमा गरेबापत परिवारले पाउने वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार सुविधा यथावत् राखिएको छ। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तीन हजार ५०० रुपैयाँ योगदानमा पाँच जना परिवारले उक्त सुविधा पाउने व्यवस्था कायम रहेको उहाँले जानकारी दिनुभयो।

बोर्डले कुल एक लाख रुपैयाँमध्ये २५ हजार रुपैयाँ बहिरङ्ग सेवा (ओपिडी) का लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको जनाएको छ।

पाँच जनाभन्दा बढी सदस्य भएको परिवारका हकमा प्रतिसदस्य सात सय रुपैयाँ थप योगदान गर्नुपर्ने र त्यसबापत प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। सूचना अधिकारी मल्लका अनुसार पाँच सदस्यीय परिवारले वर्षभरिमा बढीमा दुई हजार ५०० रुपैयाँ बराबरको ओपिडी सेवा लिन पाउने व्यवस्था छ भने थप सदस्यका लागि प्रतिसदस्य पाँच हजार रुपैयाँसम्मको ओपिडी सेवा सीमा कायम गरिएको छ।

हाल स्वास्थ्य बिमाको बजेटको करिब ७० प्रतिशत हिस्सा सामान्य बिरामीको ओपिडी सेवामै खर्च भइरहेको बोर्डले जनाएको छ। यसका कारण गम्भीर रोग वा महँगो शल्यक्रियाको अवस्थामा पर्याप्त रकम नपुग्ने र बिरामीले आफ्नै खर्च गर्नुपर्ने अवस्था देखिएको विज्ञहरू बताउँछन्।

वास्तविक गम्भीर तथा जटिल रोगको उपचारमा स्रोत सुनिश्चित गर्न ओपिडी, अस्पताल भर्ना र शल्यक्रियाजस्ता शीर्षक छुट्याएर खर्चको सीमा निर्धारण गरिएको भन्दै बोर्डले तोकिएको व्यवस्थाअनुसार सेवा उपयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्