रवि–बालेन गठबन्धन कसैले गराइदिएको, धेरै नटिक्ने : काँग्रेस प्रवक्ता चालिसे
काठमाडौँ,माघ २९ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन्द्र (बालेन) शाहबीचको सहकार्य स्वस्फूर्त नभई कसैले गराइदिएको गठबन्धन भएको टिप्पणी गर्नुभएको छ।
बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले उक्त गठबन्धन लामो समय नटिक्ने जिकिर गर्नुभयो। “उहाँहरूको गठबन्धन रहरले बनेको होइन, यो गराइएको गठबन्धन हो। धेरै समय टिक्ने पनि देखिँदैन। दुई दिनअघिसम्मका उहाँहरूको अभिव्यक्ति हेर्दा पनि प्रष्ट हुन्छ,” उहाँले भन्नुभयो।
प्रवक्ता चालिसेले सहकारी ठगीलगायत विभिन्न प्रकरणमा मुछिएपछि रवि लामिछानेको लोकप्रियता घट्दै गएको र पार्टीको साख जोगाउन बालेनलाई अघि सारिएको दाबी गर्नुभयो।
उहाँले वर्तमान निर्वाचनको परिवेश राष्ट्रपतीय प्रणालीजस्तो देखिएको उल्लेख गर्दै नेपाली काँग्रेसका सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको बताउनुभयो। रास्वपाका वरिष्ठ नेता बालेनसँग गगन थापाको तुलना हुन नसक्ने उहाँको भनाइ थियो।

