भरतताल निर्माणमा अनियमितता आरोप, १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ,माघ २९ । सर्लाहीको बागमती नगरपालिकास्थित भरतताल निर्माणमा ठूलो आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सागरनाथ वन विकास परियोजनाभित्र निर्माण गरिएको ताल निर्माणका क्रममा अनियमितता भएको दाबी आयोगले गरेको छ। आयोगका अनुसार सो परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरेसमेत अनियमिततामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।
बुधबार दायर गरिएको मुद्दामा १३ जना प्रतिवादीविरुद्ध जनही ५८ करोड ६२ लाख १४ हजार ६ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।
आयोगले परियोजनाको व्यवस्थापनमा रहेको जग्गामा उत्खनन भएको वन पैदावारको रोयल्टी असुलीमा अनियमितता भएको जनाएको छ। साबिक वन नियमावली, २०५१ तथा हाल प्रचलित वन नियमावली, २०७९ अनुसार असुल गर्नुपर्ने रोयल्टी नगरी मिलेमतोमा हिनामिना गरिएको प्रमाण अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीमा बागमती नगरपालिकाका प्रमुख भरत थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे रहेका छन्।
यसैगरी तत्कालीन निमित्त परियोजना प्रमुखहरू देवेशमणि त्रिपाठी, रामकिशोर यादव, प्रेमीलालप्रसाद कलवार, सहायक वन अधिकृतहरू चन्द्रकुमारी श्रेष्ठ, शिवेन्द्रप्रसाद चौधरी, भोला यादव, कार्यालय प्रमुख जितेन्द्र कर्माचार्य, नगरपालिकाका तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल तथा तत्कालीन इन्जिनियर सागर पौडेललाई पनि प्रतिवादी बनाइएको छ।
सबै प्रतिवादीविरुद्ध जनही ५८ करोड ६२ लाख १४ हजार ६ सय रुपैयाँ बिगो कायम गरी कानुनी कारबाहीको माग गरिएको आयोगले जनाएको छ।

