तिलौराकोटमा अर्धवृत्ताकार बौद्ध मन्दिर र स्तूपको भग्नावशेष फेला



काठमाडौँ, माघ २९ गते । कपिलवस्तुको तिलौराकोटमा पहिलो पटक अर्धवृत्ताकार (अप्सिडल) बौद्ध मन्दिरको संरचनासहित पूजाआजा गरिने देवल (स्तूप) को भग्नावशेष फेला परेको छ। पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुरहाम विश्वविद्यालयका पुरातत्वविद्को करिब चार वर्ष लामो अनुसन्धानपछि उक्त संरचना फेला परेको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

पुरातत्वविद् कोषप्रसाद आचार्यका अनुसार दक्षिण एसियाकै उत्कृष्ट रूपमा सुरक्षित प्रारम्भिक ऐतिहासिक सहर मानिने तिलौराकोटमा पहिलो पटक यस्तो अप्सिडल शैलीको मन्दिर भेटिएको हो। मन्दिरभित्र बारम्बार पूजाआजा गरिएको माटोको देवल र तेलका दियो फेला पर्नुले यो क्षेत्र लामो समयसम्म धार्मिक अनुष्ठानको केन्द्र रहेको संकेत गरेको उहाँले बताउनुभयो। संरचनाको विस्तृत परीक्षणपछि यसको यथार्थ कालखण्ड निर्धारण हुने जनाइएको छ।

विभागका अनुसार अर्धवृत्ताकार मन्दिर दक्षिण एसियामा विशिष्ट शैलीका रूपमा चिनिन्छन्, जसको पछिल्लो भाग अर्धगोलाकार हुन्छ र धार्मिक केन्द्रलाई परिभाषित गर्छ। तिलौराकोटमा फेला परेको संरचनामा करिब १.५ मिटर चौडाइका विशाल इँटाका पर्खाल प्रयोग गरिएको छ, जसले ठूलो क्षेत्रफल समेटेको छ। यसलाई अप्सिडल मन्दिरको दुर्लभ उदाहरणका रूपमा हेरिएको छ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन थप अनुसन्धान भइरहेको बताउनुभयो। दुरहाम विश्वविद्यालयका प्राध्यापक रोबिन कनिङ्घमले फेला परेका मन्दिर, स्तूप तथा अन्य अवशेष बौद्धकालीन संरचना भएको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्