काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा जलेर नष्ट, ४४ यात्रु सकुशल



कपिलवस्तु, माघ २९ । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको यात्रुवाहक बस कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकमा बिहीबार बिहान करिब ४ बजे गुडिरहेको अवस्थामा बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगो देखिएपछि बस सडक छेउमा रोकेर सबै यात्रुहरूलाई सुरक्षित रूपमा ओरालिएको थियो।

स्थानीय बासिन्दा, प्रहरी र कपिलवस्तु नगरपालिकाको दमकल टोलीले आगो नियन्त्रणमा लिन प्रयास गरे पनि बस करिब आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।

बसमा सवार सबै ४४ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। यद्यपि आगलागीका कारण बसमा रहेका यात्रुका केही सामान जलेर नष्ट भएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्