नुवाकोटमा मोटरसाइकल दुर्घटना, एक युवकको ज्यान गयो
नुवाकोट, माघ २९ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टे स्थित त्रिशुली सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बुधबार साँझ करिब ८:५५ बजे त्रिशुलीबाट गल्छीतर्फ जाँदै गरेको बा ८४ प ४२९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब ५/६ मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक बेलकोटगढी–७ कै करिब २० वर्षीय सचिन कुँवर गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि तत्काल त्रिशुली अस्पताल पठाइएको थियो। उपचारका क्रममा राति करिब ९:२५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी तारुकाको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने शव अस्पतालमै राखिएको छ।

