नुवाकोटका स्थानीय तहको कार्यसम्पादनमा ठूलो अन्तर, तादी उत्कृष्ट
नुवाकोट,माघ २९ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा नुवाकोटका १२ पालिकाबीच उल्लेख्य अन्तर देखिएको छ। १७ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा तादी गाउँपालिका ७३.८५ अंकसहित जिल्लामै उत्कृष्ट बनेको छ भने तारकेश्वर गाउँपालिका ४५.३३ अंकसहित सबैभन्दा कमजोर देखिएको छ।
आयोगका अनुसार बजेट सार्वजनिक गर्ने समयसीमा, असार मसान्तभित्र बजेट पारित, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत हिस्सा समयमै दाखिला गरे/नगरेकोलगायतका सूचकलाई मूल्याङ्कनको आधार बनाइएको थियो।
मूल्याङ्कनमा ककनी गाउँपालिका ७२.३१ अंकसहित दोस्रो र शिवपुरी गाउँपालिका ६९.२२ अंकसहित तेस्रो स्थानमा छन्। त्यसपछि विदुर नगरपालिका ६३.१४, पञ्चकन्या ५७.९५, म्यागङ ५७.८५, किस्पाङ ५७.६३, सुर्यगढी ५६.७९, लिखु ५६.५०, बेलकोटगढी ५५.७३, दुप्चेश्वर ४९.६५ अंक प्राप्त गरेका छन्।
आयोगको प्रतिवेदनअनुसार उच्च अंक ल्याउने पालिकाले समयमै बजेट प्रक्रिया पूरा गर्ने, राजस्व साझेदारीमा ढिलाइ नगर्ने र वित्तीय अनुशासन कायम गर्ने अभ्यास अपनाएका छन्। कम अंक ल्याउने पालिकामा भने प्रशासनिक कमजोरी र बजेट तथा कर हस्तान्तरणमा ढिलासुस्ती देखिएको निष्कर्ष निकालिएको छ।
प्रतिवेदनले नुवाकोटका स्थानीय तहहरूबीच सुशासन, पारदर्शिता र वित्तीय व्यवस्थापनमा अझै सुधार आवश्यक रहेको संकेत गरेको छ।

