हिमाली जिल्लामा भएको निर्वाचन तयारीमा प्रधानमन्त्रीको चासो
ओखलढुंगा,माघ २९- प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा भएको निर्वाचन तयारी र बस्तुगत अवस्थाबारे जानकारी लिनु भएको छ । सोलुखुम्बुको हिमाली क्षेत्र नाम्चेमा पुगेर अनुगमन गरेर सदरमुकाम सल्लेरीमा आएर सरोकारवालाहरुसँगको भेटपछि उहाँले फागुन २१ मै निर्वाचन हुने कुरा बताउनु भएको छ ।
प्रधानमन्त्री कार्कीले सल्लेरी बजारस्थित जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुखलगायतका सरोकारवालाहरुसँग वस्तुस्थिति बुझ्नुभएको थियो ।
फर्कने क्रममा प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै फागुन २१ मै निर्वाचन सम्भव रहेको बताउनुभयो । उहाँले सरकारले मौसमको पनि अध्ययन गरिरहेको र निर्वाचन देशभरि एकै समयमा सम्भव रहेको बताउनुभयो ।

