महोत्तरीमा ट्याक्टर दुर्घटना, दुई बालिकाको मृत्यु



महोत्तरी, माघ २९ । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा मटिहानी–४ की ७ वर्षीया फरहाना खातुन र सिराहा घर भई हाल मामाको घर मझौरामा आएकी ८ वर्षीया रजिया खातुन रहेका छन्। दुबै बालिका एउटै परिवारका रहेको जनाइएको छ।

प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार ज १ त ९७८२ नम्बरको ट्याक्टरमा रोटावेटर जडान गरी खेत जोत्ने क्रममा रोटावेटर पल्टिँदा ट्याक्टरमा बसेका बालिका किचिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाउने तयारी भइरहेको छ। ट्याक्टर चालक फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल घटनास्थल पुग्नुभएको थियो। उहाँले दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्