भारतले नेपाललाई थप २२३ सवारीसाधन हस्तान्तरण
काठमाडौँ, माघ २९ । भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोगस्वरूप तेस्रो चरणमा २२३ वटा सवारीसाधन नेपाललाई हस्तान्तरण गरेको छ।
गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई ती सवारीसाधन प्रतीकात्मक रूपमा हस्तान्तरण गर्नुभएको हो।गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले यसअघि पहिलो चरणमा ६१ र दोस्रो चरणमा २५४ सवारीसाधन उपलब्ध गराइसकेको जानकारी दिनुभयो।
यसैगरी भारत सरकारले नेपाली सेनाका लागि थप ५० वटा सवारीसाधन पनि प्रदान गरेको छ। ती सवारीसाधन राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देललाई हस्तान्तरण गर्नुभएको हो।
प्रवक्ता काफ्लेका अनुसार नेपाल प्रहरीलाई उपलब्ध गराइने केही सामग्री प्राप्त भइसकेको छ भने केही सामग्री आउने क्रममा रहेको छ।उक्त सहयोगले निर्वाचन व्यवस्थापन तथा सुरक्षा व्यवस्थालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

