इटालीसँग १० विकेटले पराजित, नेपालको सुपर आठ सम्भावना कमजोर
काठमाडौँ, माघ २९ । कमजोर ब्याटिङ प्रदर्शनका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेसँगै सुपर आठमा पुग्ने सम्भावना कमजोर बनेको छ।
जितका लागि १२४ रनको लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमै बिना विकेट क्षति लक्ष्य पूरा गरेको हो। इटालीका ओपनर दाजुभाइ जस्टिन मोस्का र एन्थोनी मोस्काले अविजित १२४ रनको साझेदारी गरे। जस्टिनले ६० र एन्थोनीले ६२ रन बनाए। इटालीले दुई रन अतिरिक्त पाएको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमा अलआउट भएको थियो। नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आशिफ शेखले २० र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए। करण केसी १८ रनमा अविजित रहे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
बलिङतर्फ इटालीका क्रिशन कालुगामेजले तीन विकेट लिए भने बेन मनेन्टीले दुई विकेट झारे। अलि हसन, जेजे स्मुथ र जसप्रित सिंहले एक–एक विकेट लिए। समूह ‘सी’ मा वेस्ट इन्डिज चार अङ्कसहित शीर्ष स्थानमा छ भने इङ्ल्यान्ड र स्कटल्यान्डको दुई–दुई अङ्क छ। इटालीले पहिलो जित निकालेको छ भने नेपाल अङ्कविहीन छ।
नेपालले अब फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले यसअघि पहिलो खेलमा इङ्ल्यान्डसँग चार रनको झिनो अन्तरले हार बेहोरेको थियो।

