नुवाकोट क्षेत्र नम्बर २ को मतपत्र सार्वजनिक, १२ दलका उम्मेदवार मैदानमा
नुवाकोट,माघ २९ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को मतपत्र सार्वजनिक गरिएको छ। यस निर्वाचन क्षेत्रमा ६४ मतदान स्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ।
क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलका १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। सबै उम्मेदवार पुरुष रहेका छन् भने स्वतन्त्र वा महिला उम्मेदवारको उम्मेदवारी परेको छैन। उम्मेदवारहरूको समावेशी विवरणअनुसार खसआर्य समुदायबाट ६६.६७ प्रतिशत, आदिवासी जनजातिबाट २५ प्रतिशत र दलित समुदायबाट ८.३३ प्रतिशत प्रतिनिधित्व रहेको छ।
मतदाता विवरणअनुसार यस क्षेत्रमा कुल १ लाख २३ हजार ९३९ मतदाता रहेका छन्। जसमध्ये ६३ हजार ५७८ पुरुष अर्थात् ५१.३० प्रतिशत र ६० हजार ३६१ महिला अर्थात् ४८.७० प्रतिशत रहेका छन्।
निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का ६१ वर्षीय केशवराज पाण्डे, नेपाली कांग्रेसका ५९ वर्षीय जगदीश्वर नरसिंह केसी, नेपाल कम्युनिस्ट पार्टीका ५८ वर्षीय हिरानाथ खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीका ४८ वर्षीय अचुतम लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५७ वर्षीय झनक प्याकुरेल, नेपाल मजदुर किसान पार्टीका २९ वर्षीय सुभाष भट्ट, मङ्गोल नेशनल अर्गनाइजेसनका ३४ वर्षीय रेन्छेन तामाङ, नेपाल कम्युनिस्ट पार्टी संयुक्तका ३० वर्षीय किरण तिमल्सिना, श्रम संस्कृति पार्टीका ३० वर्षीय बिनोद कुमार तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ४८ वर्षीय नवराज ढुङ्गाना, उज्यालो नेपाल पार्टीका ५७ वर्षीय ज्ञानेन्द्र घले तथा आम जनता पार्टीका ५४ वर्षीय मानसिंह गदाइली प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन आयोगले तोकिएको मितिमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारेको जनाएको छ। मतपत्र सार्वजनिक भएसँगै उम्मेदवारहरू चुनावी प्रचार–प्रसारमा सक्रिय भएका छन्।

