शिवपुरीको महेन्द्र आधारभूत विद्यालयलाई स्मार्ट बोर्ड प्रदान



नुवाकोट,माघ २९ । जिल्लाको शिवपुरी–८ स्थित महेन्द्र आधारभूत विद्यालयलाई ७५ इन्चको स्मार्ट बोर्ड प्रदान गरिएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवलाल पाण्डेको पहलमा सो सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

प्रविधिमैत्री सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्राइम कमर्सियल बैंक बट्टार शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई उक्त स्मार्ट बोर्ड सहयोगस्वरूप उपलब्ध गराएको हो। स्मार्ट बोर्ड हस्तान्तरणसँगै विद्यालयमा आधुनिक प्रविधिको प्रयोगमार्फत पठनपाठनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सहयोगप्रति विद्यालय परिवारले प्राइम कमर्सियल बैंकका प्रधान कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सिइओ) संजिव मानन्धरप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ। अध्यक्ष पाण्डेले पदग्रहण गरेपछि विद्यालयको भौतिक तथा शैक्षिक व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदै आएको विद्यालयले जनाएको छ। पछिल्लो समय भौतिक पूर्वाधार सुदृढीकरणसँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सकारात्मक परिवर्तन देखिन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्