खोटाङमा घरायसी विवादपछि एक व्यक्ति गम्भीर घाइते, उपचारका लागि काठमाडौं रिफर
खोटाङ,फागुन १। खोटाङमा एक व्यक्तिले घरायसी विवादका क्रममा आफैँलाई धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ५४ वर्षीय मकरचन्द्र राईले शुक्रबार बिहान करिब साढे ४ बजेको समयमा आफ्नै पेटमा छुरा प्रहार गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
गम्भीर अवस्थामा रहेका राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचार सम्भव नभएपछि उनलाई शुक्रबार दिउँसो करिब १२ बजे हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।
अस्पतालका प्रमुख डा. अमिताब ठाकुरका अनुसार अत्यधिक रक्तस्राव भएकाले राईलाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको हो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

