फेवातालमा जाल हान्दा एसएलआर र १८ राउन्ड गोली फेला
पोखरा,फागुन १। फेवातालमा माछा मार्ने क्रममा जालमा बन्दुक र गोली फेला परेको छ।
पोखरा महानगरपालिका–१८ खपौदीका ४२ वर्षीय कुमार जलारीले बिहीबार साँझ तालमा जाल हानेका बेला एसएलआर र त्यसमा प्रयोग हुने गोली जालमा अड्किएको अवस्थामा भेटिएको हो।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मु वा १११ (बट) नम्बर र बडी नं. १३८१० लेखिएको एसएलआर एक थान बरामद गरेको पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार उक्त हतियारमा लोड गरिएको १८ राउन्ड गोलीसमेत जालमै फेला परेको हो।
बरामद हतियार र गोली सुरक्षाकर्मीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

