१९ वर्षपछि जिम्बाबेसँग अस्ट्रेलियाको हार, विश्वकपमा स्तब्ध नतिजा



काठमाडौं,फागुन १ । उपाधि दावेदार अस्ट्रेलिया ICC Men’s T20 World Cupको समूह चरणअन्तर्गत दोस्रो खेलमा जिम्बाबेसँग २३ रनले पराजित भएको छ।

आर प्रेमदासा मैदानमा शुक्रबार सम्पन्न खेलमा १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमै समेटियो। टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाले जिम्बाबेसँग १९ वर्षपछि हार व्यहोरेको हो। यसअघि सन् २००७ मा पराजित भएको थियो।

अस्ट्रेलियाका लागि म्याट रेनशाले सर्वाधिक ६५ रन बनाए। ग्लेन म्याक्सवेलले ३१ तथा कप्तान ट्राविस हेडले १७ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

बलिङतर्फ जिम्बाबेका ब्लेसिङ मुजराबानीले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। ब्राड इभान्सले तीन विकेट झारे भने वेलिङ्टन मसाकाड्जा र रायल बर्लले समान एक/एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाबेले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १६९ रन बनाएको थियो। ओपनर ब्रायन बेनेटले अविजित ६४ रनको योगदान दिए। रायल बर्ल र तदिवानाश मारुमानीले ३५/३५ रन बनाए भने कप्तान सिकन्दर राजाले २५ रन जोडे। अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरन ग्रीनले समान एक/एक विकेट लिए।

समूह ‘बी’मा लगातार दोस्रो जितसहित चार अंक जोडेको जिम्बाबे दोस्रो स्थानमा उक्लिएको छ। समान चार अंक भए पनि नेट रनरेटका आधारमा श्रीलङ्का शीर्षस्थानमा छ। पहिलो हार खेपेको अस्ट्रेलियाको दुई अंक रहेको छ भने आयरल्यान्ड र ओमानले अझै अंकको खाता खोल्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्