प्रतिनिधिसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गराइने : गृहमन्त्री ओमप्रकाश अर्याल
काठमाडौं,फागुन १ । ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताउनुभएको छ।
गृह मन्त्रालयमा आज आयोजित शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयसम्बन्धी छलफलमा उहाँले निर्वाचनलाई सुव्यवस्थित बनाउन वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ तयार गरी कार्यान्वयनमा ल्याइएको स्पष्ट पार्नुभयो।
छलफलमा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र जिल्ला समन्वय समिति महासङ्घ, नेपालका प्रमुख तथा पदाधिकारी सहभागी थिए। स्थानीय तहका छाता संगठनका प्रतिनिधिहरुले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आ–आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको जानकारी गराएका गृहमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, जिल्ला समन्वय समिति महासङ्घका कार्यकारी निर्देशक भरतकुमार भट्टराई तथा गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतको सहभागिता रहेको थियो।

