दार्चुलामा वृद्धा हत्या प्रकरण : दुई जना पक्राउ
दार्चुला,फागुन १ । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरब महतका अनुसार पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षीय गोपाल नाथ रहेका छन्। साउद ट्याक्टर चालक र नाथ उनका सहयोगी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट मृतकका छिमेकीसमेत रहेका साउदकै योजनामा हत्या गरी करिब दुई तोला बराबरका गरगहना लुटिएको खुलेको प्रहरीले जनाएको छ। अभियुक्तहरूको साथबाट लुटपाट गरिएका गरगहना बरामद गरिएको प्रहरी नायब उपरीक्षक महतले जानकारी दिनुभयो।
प्रहरीका अनुसार साउद यसअघि चोरी मुद्दामा ११ महिना कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए। उनीहरू लागुऔषध दुर्व्यसनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बयानका क्रममा दुवै जनाले अभियोग स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

