बंगलादेशमा राजनीतिक फेरबदल : बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित
एजेन्सी,फागुन १ । बंगलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ। सम्पन्न आम निर्वाचनमा Bangladesh Nationalist Party (बीएनपी) ले भारी बहुमत प्राप्त गरेको छ।
पूर्वप्रधानमन्त्री Begum Khaleda Zia का छोरा तथा बीएनपीका अध्यक्ष Tarique Rahman को नेतृत्वमा रहेको पार्टीले ३ सय संसदीय सिटमध्ये हालसम्म २ सय ९ सिटमा विजय हासिल गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो जितसँगै तारिक रहमान बंगलादेशको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ।देशभरका १२ करोड ७० लाखभन्दा बढी मतदाताहरूले बिहीबार उत्साहपूर्वक मतदान गरेका थिए। यो निर्वाचन नयाँ सरकार चयनका साथै देशको भविष्य र संवैधानिक सुधारका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।
निर्वाचनसँगै जुलाई राष्ट्रिय बडापत्र सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो, जसले देशमा व्यापक संवैधानिक परिवर्तनको संकेत गरेको बताइएको छ।
यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९ सय ८१ उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका थिए। तर लामो समयदेखि सत्तामा रहेको Awami League लाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कारण ऐतिहासिक प्रतिस्पर्धामा उनीहरूको सहभागिता हुन सकेन। उक्त दलकी नेतृ Sheikh Hasina को अनुपस्थितिले निर्वाचन थप चर्चामा रहेको थियो।
विश्लेषकहरूले यस मतपरिणामले बंगलादेशमा नयाँ राजनीतिक युगको सुरुवात गरेको टिप्पणी गरेका छन्।

