प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै रसुवा कारागारमा नेपाली सेना परिचालन
रसुवा,फागुन १ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै धुन्चेस्थित कारागार कार्यालयको सुरक्षाका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। निर्वाचनलाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको हो।
श्रीनाथ गणका गणपति प्रद्युम्न गौतमका अनुसार जिल्लाका अति संवेदनशील संरचनामध्ये एक मानिने रसुवा कारागारको सुरक्षाका लागि बिहीबारदेखि फौज परिचालन गरिएको हो। उक्त टोली निर्वाचन अवधिभर कारागार परिसरमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न निरन्तर खटिने जनाइएको छ।
गणपति गौतमले निर्वाचन अवधिभर कारागारसहित अन्य महत्त्वपूर्ण संरचनामा कडाइका साथ सुरक्षा कायम राखिने बताउनुभयो। सम्भावित जोखिम न्यूनीकरण गर्दै जिल्लावासीलाई सुरक्षित वातावरणमा मताधिकार प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले सेना परिचालन गरिएको उहाँको भनाइ छ।
निर्वाचनलाई लक्षित गर्दै यसअघि नै जिल्लाभर सेनाद्वारा गस्ती तीव्र पारिएको छ। सुरक्षा निकायको सक्रियताले निर्वाचन प्रक्रिया थप सुरक्षित र विश्वसनीय हुने अपेक्षा गरिएको छ।

