धादिङमा काँडेभ्याकुर संरक्षण अभियान सुरु, सिद्धलेकबाट सचेतना कार्यक्रम थालियो
धादिङ,फागुन १ । डिभिजन वन कार्यालय धादिङले नेपालमा मात्र पाइने दुर्लभ चरा काँडेभ्याकुर संरक्षणका लागि सचेतना अभियान सुरु गरेको छ। काँडेभ्याकुर पाइने क्षेत्र सिद्धलेक गाउँपालिकाका सामुदायिक वन उपभोक्तालाई यसको महत्वबारे जानकारी गराउँदै संरक्षण अभियान अघि बढाइएको हो।
बाग्मती प्रदेश सरकारको सहकार्यमा सुरु गरिएको उक्त अभियान सिद्धलेक गाउँपालिका–२ बाट प्रारम्भ भएको छ। स्थानीय तहसँगको समन्वयमा सामुदायिक वन उपभोक्तालाई प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।
डिभिजन वन अधिकृत रोशना पोखरेलका अनुसार काँडेभ्याकुर समुद्री सतहदेखि १२ सय मिटरभन्दा माथिका वन क्षेत्रमा बसोबास गर्ने चरा हो। विशेषगरी सिद्धलेकको नलाङ क्षेत्रमा यसको उपस्थिति बढी देखिएपछि संरक्षण अभियान थालिएको उहाँले बताउनुभयो। काठमाडौँ, ललितपुर, चितवन र तनहुँका केही क्षेत्रमा पनि यो चरा फेला परेको जानकारी दिइएको छ।
सिद्धलेकस्थित ढेवाडाँडा सामुदायिक वनमा काँडेभ्याकुर प्रशस्त पाइने स्थानीयवासी बताउँछन्। विगतमा यसको महत्वबारे जानकारी नहुँदा शिकार हुने गरेको भए पनि पछिल्लो समय संरक्षणप्रति सचेतना बढेको वडा अध्यक्ष शम्भु गरुङ्गको भनाइ छ।
स्थानीय संरक्षणकर्मीका अनुसार काँडेभ्याकुर संरक्षणले जैविक विविधता जोगाउन तथा वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ। साथै, यसले भविष्यमा पर्या–पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

