मनाङमा चुनावी सरगर्मी बढ्यो: पर्यटन, पूर्वाधार र जलवायु परिवर्तन मुख्य एजेण्डा
मनाङ,फागुन २— प्रतिनिधिसभा निर्वाचनका लागि मतदान हुन १९ दिन बाँकी रहँदा हिमाली जिल्ला मनाङमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू आ–आफ्ना एजेण्डा र योजनासहित मतदाताको घरदैलोमा पुग्दै समर्थन जुटाउने प्रयासमा सक्रिय देखिएका छन्।
यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मङ्गोल नेशनल अर्गनाइजेसनबीच प्रतिस्पर्धा हुने भएको छ। यद्यपि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपाबीच केन्द्रित हुने आकलन गरिएको छ। सबै दलले मनाङको पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राखेका छन्।
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङले विकट भूगोलका कारण मनाङमा पूर्वाधार विकास चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सहज स्थलमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। उहाँका अनुसार नार्पाभूमि अझैसम्म सडक सञ्जालमा नजोडिएकाले यस क्षेत्रमा पहुँच विस्तार अत्यावश्यक छ। पर्यटनलाई मनाङको मुख्य आयस्रोतका रूपमा अघि बढाउँदै साहसिक, ऐतिहासिक र धार्मिक क्षेत्रको प्रवर्द्धनमार्फत जिल्लाको आर्थिक अवस्था उकास्ने लक्ष्य उहाँले राख्नुभएको छ।
उहाँले तिलिचोताललाई धार्मिक पर्यटनसँग जोड्ने, जलविद्युत् आयोजनाको हबका रूपमा मनाङलाई विकास गर्ने तथा हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत पहल गर्ने एजेण्डा अघि सार्नुभएको छ। त्यस्तै नेकपाकी उम्मेदवार यशोदा सुवेदी गुरुङले मनाङलाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभएको छ। उहाँले अन्नपूर्ण पदमार्ग सडक विस्तारका कारण प्रभावित भएकाले वैकल्पिक पदमार्ग निर्माण आवश्यक रहेको बताउनुभयो। तिलिचो ताल, आइसलेक, थोराङ्ला पास, लार्के पास र काङ्ला पासलगायत क्षेत्रको प्रवर्द्धनमार्फत पर्यटनलाई थप सुदृढ बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ।
गत प्रतिनिधिसभा निर्वाचन २०७९ मा मनाङमा कुल ६ हजार ७७९ मतदाता रहेकामा ४ हजार ८२७ मत खसेको थियो। त्यतिबेला कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ५७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत ल्याउनुभएको थियो।
यस पटक मनाङमा महिला ३ हजार ६२३ र पुरुष ३ हजार ३७७ गरी कुल ७ हजार मतदाता रहेका छन्। २९ मतदान केन्द्रमार्फत मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अघिल्लो निर्वाचनको तुलनामा यस पटक दलगत समीकरणमा केही परिवर्तन देखिएको छ। नेकपा एमाले र राप्रपाले कांग्रेसलाई समर्थन गरेकाले प्रतिस्पर्धाको समीकरण फरक बनेको छ।
निर्वाचन नजिकिँदै जाँदा मनाङमा राजनीतिक चहलपहल बढ्दै गएको छ भने मतदाता पनि विकासका ठोस योजना र दीर्घकालीन प्रतिबद्धताप्रति सचेत देखिएका छन्।

