पश्चिमी वायुको प्रभाव : देशभर आंशिक बदली, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना



काठमाडौं,फागुन २ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो तराई भू–भागका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। तराई भू–भागमा भने मुख्यतया मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्न सक्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ। साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्