खानेतेलको मूल्यवृद्धिबारे उद्योगीसँग स्पष्टीकरण माग, केही उद्योगीले मूल्य घटाएको सूची पेस
काठमाडौं,फागुन २ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भटमास र सूर्यमुखीको खानेतेलको मूल्य अस्वाभाविक रूपमा बढेको विषयमा उद्योगीसँग स्पष्टीकरण माग गरेको छ। विभागले बिहीबार देशभर रहेका २७ वटा खानेतेल उत्पादन उद्योगीलाई बोलाएर मूल्य बढ्नुका कारण स्पष्ट खुलाउन निर्देशन दिएको हो।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार उद्योगीहरूसँगको छलफलपछि दुई उद्योगले शुक्रबारदेखि लागू हुने गरी प्रतिलिटर आठ रुपैयाँदेखि १५ रुपैयाँसम्म मूल्य घटेको सूची पेस गरेका छन्। विभागले सबै उद्योगीलाई तीन दिनभित्र मूल्यवृद्धिको स्पष्ट कारणसहित सम्पूर्ण विवरण बुझाउन निर्देशन दिएको थियो।
निर्देशक तिवारीले आइतबारसम्म सबै उद्योगबाट घटेको मूल्यसहितको विवरण आउने विश्वास व्यक्त गर्दै सोमबारसम्म चित्त बुझ्दो स्पष्टीकरण नआए कानुनअनुसार कारबाही गरिने चेतावनी दिनुभयो।
नेपाली बजारमा करिब एक महिनायता खानेतेलको मूल्य निरन्तर बढ्दै गएको थियो। नेपाल खुद्रा व्यापार सङ्घका अनुसार यस अवधिमा प्रतिलिटर ४० रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो। माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपैयाँमा बिक्री भइरहेको खानेतेलको मूल्य हाल २८५ देखि २९० रुपैयाँसम्म पुगेको छ।
खुद्रा व्यापारीहरूले दिनहुँ मूल्य बढ्दा कारोबारमा समस्या भएको गुनासो गरेका छन्। सङ्घका उपाध्यक्ष नरेश खड्गीका अनुसार थोकमा महँगो मूल्यमा सामान किन्नुपर्ने बाध्यता र उपभोक्ताको गुनासोबीच खुद्रा व्यापारी दोहोरो मारमा परेका छन्। “थोकमा बढेको मूल्य तिरेर ल्याउनुपर्छ, उपभोक्ता महँगो भयो भनेर गुनासो गर्छन्, अनि सरकारी निकायले अनुगमन गर्दा कारबाही पनि हामीलाई नै भोग्नुपर्छ,” उहाँले भन्नुभयो।

