ललितपुरमा मिनी ट्रक दुर्घटना : चार जनाको मृत्यु
ललितपुर,फागुन २ – ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रदेश–०१–००४ क ६२२८ नम्बरको ट्रक हिजो राति उकालो चढ्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै तथा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। घटनास्थलमै मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापा रहेका छन्।
त्यस्तै, घाइते भएका गोपी कार्कीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

