नुवाकोटले इतिहास रच्ने समय आएको छ : ई. अमन मास्के
काठमाडौं,फागुन २ – नेकपा एमालेका नेता ई. अमन मास्केले नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा सक्षम र विकासप्रेमी उम्मेदवार उठेकाले यस पटक जिल्लाले नयाँ इतिहास रच्ने अवसर प्राप्त गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नुवाकोट क्षेत्र नम्बर १ र २ का नेताकार्यकर्ता भेला तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै मास्केले देश निर्माणमा असल कर्म गर्ने नेतृत्व आवश्यक रहेको उल्लेख गरे। “यो देशमा इतिहास असल काम गर्नेहरूले नै रच्छन्,” उनले भने, “त्यसका लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ।”
काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मास्केले प्रजातान्त्रिक अभ्यासमार्फत स्थापित राजनीतिक उपलब्धिलाई आधार मानेर अघि बढ्नुपर्ने बताए। पुराना दलको योगदानलाई नकार्दै गाली गर्नु समाधान नभएको उल्लेख गर्दै उनले सबै राजनीतिक शक्ति मिलेर जनतासामु स्पष्ट एजेन्डासहित जानुपर्ने धारणा राखे।
उनले दलका दस्तावेज र नीति उत्कृष्ट भए पनि मतदाताले सही नेता चिनेर निर्णय गर्नुपर्नेमा जोड दिए। नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनाली र क्षेत्र नम्बर २ का उम्मेदवार केशवराज पाण्डे विकासका सवालमा प्रतिबद्ध र सक्षम रहेको दाबी गर्दै उनले जिल्लाको समग्र विकासका लागि उनीहरू उपयुक्त विकल्प भएको बताए।
मास्केले राजनीतिक स्थिरता, सुशासन र पूर्वाधार विकासलाई केन्द्रमा राखेर निर्वाचनमा होमिन कार्यकर्ता तथा समर्थकलाई आह्वान गरे।नुवाकोटको सम्भावनालाई मूर्तरूप दिन एकजुट भएर अघि बढ्नुपर्ने उनको सुझाव थियो।
भिडियो हेर्नुस्

