‘सबल, समृद्ध र समुन्नत नेपाल’ लक्ष्यसहित राप्रपाको सङ्कल्प पत्र सार्वजनिक
काठमाडौं,फागुन ३– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ। धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो। ‘अबको गन्तव्यः सबल, समृद्ध र समुन्नत नेपाल’ भन्ने दीर्घकालीन सोचसहित सार्वजनिक गरिएको सङ्कल्प पत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई मुख्य एजेण्डा बनाइएको छ।
सङ्कल्प पत्रमा पार्टीको दृष्टिकोण, पारदर्शी प्रशासन, पुँजी निर्माण र दिगो विकासका साथै शिक्षा र स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा तथा युवा केन्द्रित उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ। पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार देशलाई विसं २०८७ सम्म मध्यम आयस्तरको राष्ट्रका रूपमा विकास गर्ने मार्गचित्रसमेत समावेश गरिएको छ।
पार्टीले ‘पृथ्वीपथ’ अवलम्बन गर्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, प्रविधि विकास, दिगो पूर्वाधार, सहर तथा बस्ती विकास, रोजगारमूलक उत्पादन र उत्पादकत्व अभिवृद्धिलाई प्राथमिकता दिने जनाएको छ। राष्ट्रिय स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र राष्ट्रिय सुरक्षालाई मूल नीतिका रूपमा अघि सारिएको छ।
सङ्कल्प पत्रमा जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि तथा विदेशमा बस्ने नेपालीको सीप र पुँजीलाई उपयोग गर्दै निजी क्षेत्रको सहभागितामा देशको समग्र अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य राखिएको छ।साथै स्थानीय र केन्द्रीय दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

