नुवाकोटमा कृत्रिम ताल निर्माण सम्भव रहेको बद्री मैनालीको दाबी
नुवाकोट,फागुन ३ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीले नुवाकोटमा कृत्रिम ताल निर्माण सम्भव रहेको दाबी गरेका छन्।
शनिबार आयोजित क्षेत्र नम्बर १ र २ का कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रममा उनले विश्वका उत्तरतर्फका देशहरूले ठूला समुद्र थुनेर औद्योगिक तथा कृषि आधुनिकीकरण गरेको उदाहरण प्रस्तुत गर्दै नुवाकोटमा पनि सोही अवधारणा लागू गर्न सकिने बताएका हुन्।
मैनालीले व्यक्तिगत पहलमा निर्माण सम्पन्न ‘भरतताल’ जस्ता परियोजनाबाट पर्यटन प्रवर्द्धन सम्भव भएको उल्लेख गर्दै ताल निर्माण असम्भव रहेको दाबी गर्नेहरूलाई प्रश्न गरेका छन्। शिवपुरी धाप ड्यामजस्ता आयोजना सम्भव हुने विभिन्न मापदण्ड पूरा गरेर ताल निर्माणको योजना अघि सार्दा विपक्षीले चुनावी नारामात्र भन्दै आलोचना गरेकोप्रति उनले असन्तुष्टि जनाए।
उनका अनुसार खेर गइरहेका खोलानाला व्यवस्थित गर्दै बसोबास तथा खेतीयोग्य जमिनमा असर नपर्ने गरी ताल निर्माण गरिनेछ। यसले नुवाकोटको सौन्दर्यता अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ। सुरुङ मार्ग निर्माणसँगै चीनबाट समेत पर्यटक भित्र्याउन सकिने र हजारौँ व्यक्तिलाई रोजगारी तथा आयआर्जनमा जोड्न सकिने उनले दाबी गरे।
मैनालीले २०४८ सालदेखि विभिन्न दलका नेताहरू निर्वाचित भएर मन्त्री तथा अर्थमन्त्रीसम्म बने पनि नुवाकोटवासीको जीवनस्तर उकास्ने दीर्घकालीन योजना कार्यान्वयन नभएको आरोप लगाए। परिवारवाद र वंशवादको राजनीति गर्दै आएका व्यक्तिहरू विकासप्रेमी भन्दै आएकोप्रति आफूलाई आश्चर्य लागेको उनले टिप्पणी गरे।
नुवाकोटका खोलानालाबाट गिट्टी–बालुवा बेचेर लाभ लिनेहरूले आफ्नो महत्वाकांक्षी ताल निर्माण योजनामाथि खिसीट्युरी गरेको उल्लेख गर्दै उनले जुनसुकै हालतमा ताल निर्माण गरिने र यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तत्काल तयार पारिने बताए।
भिडियो हेर्नुस्

