प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा



काठमाडौँ,फागुन ३ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म अधिकांश मतपत्र छापिसकेको जनाएको छ।

केन्द्रका अनुसार अब करिब १२ लाख थान मतपत्र छाप्न बाँकी रहेको छ। प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार शनिबार साँझसम्म एक करोड ९० लाख थान मतपत्र छपाइ सम्पन्न भएको छ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि निर्वाचन आयोग नेपालले दुई करोड तीन लाख थान मतपत्र छाप्नुपर्ने व्यवस्था गरेको छ। हालसम्म छापिएका मतपत्र ६६ जिल्लाका लागि हुन्।

काठमाडौँ उपत्यकावरपरका जिल्लाका मतपत्र छपाइ कार्य मात्रै बाँकी रहेको जनाइएको छ। केन्द्रका अनुसार दैनिक १० देखि १२ लाख थानसम्म मतपत्र छाप्ने क्षमता रहेको छ। यसै आधारमा आइतबार साँझसम्म सबै आवश्यक मतपत्र छपाइ सम्पन्न हुने प्रबन्ध सञ्चालक पौडेलले जानकारी दिए।

छापिएका मतपत्रमध्ये कर्णाली प्रदेशका सबै निर्वाचन क्षेत्रका मतपत्र ढुवानी भइसकेको छ भने सुदूरपश्चिम प्रदेशका मतपत्र ट्रकमा लोड गर्ने काम भइरहेको छ।

यसअघि गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको थियो। समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरिसकिएको छ। ढुवानी गरिएका जिल्लामा प्रत्यक्ष र समानुपातिक दुवै प्रकारका मतपत्र एकैसाथ पठाइएको छ।

मतपत्र ढुवानी तथा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हालेको छ। सेनाले सम्बन्धित जिल्लामा मतपत्र पुर्‍याएर जिल्ला सुरक्षा समितिलाई जिम्मा लगाउने र आवश्यकताअनुसार सुरक्षा प्रदान गर्ने जनाइएको छ। यसअघि १० लाख ९८ हजार थान नमुना मतपत्र पनि छापी विभिन्न जिल्लामा पठाइसकिएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्