सिन्धुलीमा इन्टरनेट जडानका क्रममा करेन्ट लागेर एक श्रमिकको मृत्यु



सिन्धुली,फागुन ३ – सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक श्रमिकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलञ्जोर गाउँपालिका–५ आलडाँडा क्षेत्रमा बिजुलीको पोलमा चढेर काम गरिरहेका तीनपाटन गाउँपालिका–२ कदमे स्थायी घर भई हाल कमलामाई नगरपालिका–४ ढुंग्रेबास बस्दै आएका ४२ वर्षीय रामलाल श्रेष्ठ करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

स्थानीय स्तरमा इन्टरनेट जडानसम्बन्धी काम गर्दै आएका श्रेष्ठले पोलमा चढेर तार व्यवस्थापन गर्ने क्रममा अचानक विद्युत् तारले छोएपछि अचेत भई पोलबाट तल खसेका थिए। घटनालगत्तै स्थानीयवासीले उनको उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पु¥याएका थिए। अस्पतालले उपचारका क्रममा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रारम्भिक अनुसन्धानमा सुरक्षा उपकरण प्रयोग नगरी काम गर्दा करेन्ट लागेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्