रौतहटमा भारतीय नम्बरको मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु



रौतहट,फागुन ३– रौतहटमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिकै दुर्घटना भएको हो। बिहान करिब साढे पाँच बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती गम्भीर घाइते भएका थिए। उनीहरू टाउको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेर अचेत अवस्थामा फेला परेका थिए।

घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्