नुवाकोटमा २३० कुकुरको बन्ध्याकरण गरियो



नुवाकोट,फागुन ३ – पशु तथा मानव स्वास्थ्य सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको बेलकोटगढी नगरपालिकाले सञ्चालन गरेको कुकुर बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप शिविर सम्पन्न भएको छ।

नगरपालिकाको आर्थिक विकास तथा पशु स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ५, ६, ७, १०, ११, १२ र १३ मा घरपालुवा तथा सामुदायिक कुकुरहरूको बन्ध्याकरण र रेबिज विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको थियो। पशु चिकित्सक अन्जु शर्मा चापागाइका अनुसार अभियानअन्तर्गत हालसम्म २३० वटा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप लगाउने कार्य सम्पन्न गरिएको छ।

बन्ध्याकरण गरिएका कुकुरमध्ये १५३ वटा भाले र ७७ वटा पोथी रहेका छन्। लक्ष्यअनुसार घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई समेटेर कार्यक्रम सम्पन्न गरिएको चापागाइले जानकारी दिइन्। नगर प्रमुख जगतबहादुर गुरुङले नगरका विभिन्न स्थानमा रहेका सामुदायिक कुकुरलाई लक्षित गरी स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइएको बताए। उनका अनुसार यस कार्यक्रमअन्तर्गत आन्तरिक तथा बाह्य परजीवी विरुद्धको उपचारसमेत गरिएको छ, जसले पशु तथा मानव स्वास्थ्य सुरक्षामा प्रभावकारी योगदान पुर्‍याएको छ।

वडा–वडामा पुगेर पशु स्वास्थ्य प्राविधिकहरूले सञ्चालन गरेको उक्त अभियानले सामुदायिक कुकुरहरूको अस्वाभाविक वृद्धि नियन्त्रण, रेबिज रोग न्यूनीकरण तथा समग्र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। कुकुर पालक तथा सर्वसाधारणले समेत स्वास्थ्य सुरक्षामा मद्दत पुगेको जनाउँदै कार्यक्रमप्रति खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्