५० प्रतिशत कृषि क्षेत्र जैविक बनाउने उज्यालो नेपालको घोषणा
काठमाडौं, फागुन ३ – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिवद्धता–पत्र सार्वजनिक गर्दै उज्यालो नेपाल पार्टीले पाँच वर्षभित्र ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक (अर्गानिक) कृषि क्षेत्र घोषणा गर्ने योजना अघि सारेको छ।
पूर्वमन्त्री कुलमान घिसिङ अध्यक्ष रहेको उक्त पार्टीले ‘अर्गानिक कृषि क्रान्ति’को नारा दिँदै उत्पादित वस्तुको बजारीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको हो। प्रतिवद्धता–पत्रमा ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक घोषणा गरी उत्पादित वस्तुको बिक्री व्यवस्थापन मिलाइने उल्लेख छ। साथै कृषि उत्पादन लागतमा २० प्रतिशत थप गरी सरकारी खरिदको व्यवस्था गरिने जनाइएको छ।
पार्टीले किसानलाई दिइने अनुदान डिजिटल आईडीमार्फत सिधै बैंक खातामा पठाउने व्यवस्था मिलाउने जनाएको छ। सिंचाइ, मल, बीऊ तथा कृषि बिमाका लागि दिइने अनुदान प्रत्यक्ष किसानसम्म पुर्याइने योजना रहेको छ।
युवा किसानलाई लक्षित गर्दै ‘कृषि सहकारी स्टार्टअप फन्ड’मार्फत २५ लाख रुपैयाँसम्मको सहुलियत ऋण पाँच वर्षका लागि उपलब्ध गराइने पनि प्रतिवद्धता–पत्रमा उल्लेख छ। कृषि सिंचाइमा प्रयोग हुने विद्युत निःशुल्क उपलब्ध गराउने तथा व्यवसायिक कृषि गर्ने किसानलाई माछा, कुखुरा, बाख्रा पालन, च्याउ उत्पादन र चिया खेतीका लागि सहुलियत दरमा विद्युत महसुल उपलब्ध गराइने जनाएको छ।
जलवायु परिवर्तनका कारण कृषि र ऊर्जा क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा पार्टीले जलवायु अनुकूलन र विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। ‘जलवायु अनुकूलित हरित पूर्वाधारमार्फत विपद् पूर्वतयारीलाई योजनाबद्ध, प्रभावकारी र दिगो बनाइनेछ,’ प्रतिवद्धता–पत्रमा उल्लेख छ। साथै सबै नागरिकका लागि विपद् बिमा सुनिश्चित गर्ने घोषणा समेत गरिएको छ।

