प्रतिनिधिसभा निर्वाचन केन्द्रित ६४ बुँदे निर्देशन जारी
काठमाडौं,फागुन ३ – निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आयोगले उक्त निर्देशन सार्वजनिक गरेको हो।
निर्देशनअनुसार उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम गर्न पाउनेछन्। प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।
मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पूर्ण निषेध गरिएको छ। आयोगले निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा बैंक खातामार्फत मात्र लिनुपर्नेछ। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको विस्तृत विवरण आयोगमा बुझाउनुपर्नेछ।
निर्वाचन चिह्न अंकित टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता सामग्री वितरण र प्रयोग गर्न नमिल्ने उल्लेख छ। ७५ ग्रामको कागजमा ३०० वर्ग इन्चसम्मको एउटै रङको पर्चा मात्र वितरण गर्न पाइनेछ। डिजिटल बोर्ड, फ्लेक्स तथा भित्ते लेखन पूर्ण रूपमा निषेध गरिएको छ।
निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुईवटा सवारी साधन मात्र प्रयोग गर्न पाइनेछ भने सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक लगाइएको छ। निर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग गर्न कडाइका साथ प्रतिबन्ध लगाइएको छ। साथै प्लास्टिक वा पोलिथिनजस्ता अजैविक सामग्री प्रयोग गर्न नपाइने र प्रयोग भएका प्रचार सामग्रीको उचित व्यवस्थापन सम्बन्धित दल वा उम्मेदवारले नै गर्नुपर्ने आयोगले जनाएको छ ।

